पछिल्ला सामग्री :
खेलाडीलाई दुई लाख ५० हजार

काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार आठौँ साफ च्याम्पियनसिपको सेमिफाइनलिस्ट नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्य र प्रशिक्षकद्वयलाई जनही दुई लाख ५० हजारका दरले पुरस्कृत गरेको छ ।

साफ च्याम्पियनसिपमा लगातार दोस्रोपटक सेमिफाइनल पुगेको नेपाली टोलीमा २० खेलाडी तथा दुई प्रशिक्षक थिए । यस्तै एन्फाले नेपाली टोलीका फिजियोलाई भने एक लाख नगदसहित पुरस्कृत गरेको छ ।

पुरस्कृत हुने खेलाडीमा कप्तान सागर थापा, गोलरक्षक किरण चेम्जोङ, डिफेन्डरहरू सन्दीप राई, विराज महर्जन, रविन श्रेष्ठ, र मिडफिल्डर राजु तामाङ, भोला सिलवाल, रोहित चन्द, जगजित श्रेष्ठ, विक्रम लामा र प्रकाश बुढाथोकी छन् । यस्तै सम्मानित हुने स्ट्राइकरमा अनिल गुरुङ, जुमानु राई, विमल घर्तीमगर, भरत खवास र टंक बस्नेत छन् । टोलीमा परेर पनि प्रतियोगिताभर बेन्चमै रहेका गोलरक्षकद्वय विशाल श्रेष्ठ र रितेश थापा, डिफेन्डर सविन्द्र श्रेष्ठ स्ट्राइकर सन्तोष साहुखल पनि पुरस्कृत भए ।
तस्वीर सौजन्य : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

एन्फाले गत १५ देखि २५ भदौसम्म दशरथ रंगशालामा भएको प्रतियोगिताको टिकट बिक्रीमार्फत उठेको चार करोड ५० लाखमध्ये करिब ५० लाख खेलाडीको पुरस्कारमा खर्चिएको छ । एन्फाले प्रतियोगिताअघि उपाधि जिते प्रत्येक खेलाडीलाई अपार्टमेन्ट र आजीवन १०–१० हजारका दरले भत्ता दिने घोषणा गरेको थियो । नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट सुरुवातसमेत गर्‍यो ।

पाकिस्तानसँग १–१ को बराबरीका बाबजुद भारत (२–१) र बंगलादेश (२–०)लाई पराजित गर्दै समूह विजेताको रूपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । तर, सेमिफाइनलमा लगातार दोस्रोपटक अफगानिस्तान अवरोध हुँदा १–० को पराजय बेहोर्दै नेपाल उपाधिबाट वञ्चित हुन पुग्यो । एन्फाले प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेकाले त्यसको कदर स्वरूप सम्मान गरिएको जनाएको छ ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.