पछिल्ला सामग्री :
मतदाताको सदभाव पाएकी छु : शाह

दोस्रो संविधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू चुनावी प्रचारप्रसारमा होमिएका छन् । उनीहरू यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो अभियानदेखि चुनावी सभामा व्यस्त हुन थालेका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेकपा संयुक्तका उम्मेदवार कल्याणी शाह पनि संविधानसभा निर्वाचनमा सक्रिय छिन् । काठमाडौं डिल्लीबजारमा जन्मेकी शाह राजनीतिक परिवारमा हुर्केकी हुन् । उनका बुबा श्रीराम शर्मा राणाविरोधी अभियानमा सक्रिय थिए भने आमा सुभद्रा शर्माले पनि राजनीतिप्रति सद्भाव र सहयोग गर्दै आएकी हुन् । तत्कालीन सोभियत संघबाट अन्तर्राष्ट्रिय कानुन विषयमा उच्च शिक्षा हासिल गरेकी शाहले सर्वोच्च अदालतमा वकालतमा सक्रिय रहिन् । त्यही क्रममा उनी प्रजातान्त्रिक महिला संघमा आबद्ध रहेर पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भइन् । उनी २०३६ सालको आन्दोलन, २०४२ सालको सत्याग्रह आन्दोलनमा आफ्ना श्रीमान् कम्युनिस्ट आन्दोलनका स्थापित नेता गणेश शाहसँगै पटकपटक जेल जीवन पनि व्यतित गरेकी छन् । हाल उनी नेकपा संयुक्तको केन्द्रीय सचिवालय सदस्य छिन् । काठमाडौं महानगरपालिका १० का स्थानीय बासिन्दा रहेकी शाहसँग निर्वाचनको सेरोफेरोमा गरिएको कुराकानीको सम्पादित अंश :
  • तपाईंको उम्मेदवारी किन ?
पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । यो दोस्रो निर्वाचन हो । म पहिलादेखि निरन्तर राजनीतिमा लागेको व्यक्ति हुँ । म कानुन व्यवसायी पनि हुँ । समावेशीकरणका हिसाबले पनि आगामी संविधानसभामा महिला प्रतिनिधित्वको दृष्टिकोणले मेरो उम्मेदवारी आवश्यक थियो । अर्को कुरा, मलाई पार्टी (नेकपा संयुक्त) ले विश्वास गरेर टिकट दियो । पहिला संविधानसभाले संविधान दिन नसकेको अवस्थामा अब भने संविधान जारी गरी मुलुकलाई निकास दिनुपर्छ भन्ने अठोकका साथ मैले उम्मेदवारी दिएकी हुँ ।
  • तपाईंको प्रतिस्पर्धा कोसँग हुन्छ ?
मैले उम्मेदवारी दिएको काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले महामन्त्री प्रकाशमान सिंहलाई उठाएको छ । त्यसैगरी एमालेले विद्या न्यौपानेलाई टिकट दिएको छ । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई टिकट दिएको छ । यसअर्थमा पनि मेरो प्रतिस्पर्धा एमाओवादी, कांग्रेस र एमालेसँगै हुन्छ । विगतमा यो क्षेत्रबाट नेपाली कांग्रेसले जितेको हो । तर ठूला दलले जिते पनि संविधान बन्न सकेन । ठूलो पार्टीले संविधान बनाउन नसकेको र म पहिला संविधानसभामा नपुगेको हिसाबले यहाँका मतदाताले मलाई मत दिनुहुन्छ भन्ने विश्वास लिएकी छु । मेरो व्यक्तित्वका हिसाबले पनि मतदाताले मलाई मत दिन आवश्यक छ । किनभने म कानुन व्यवसायी पनि हुँ । मेरो अनुभव संविधान निर्माणका क्रममा काम लाग्ने विषय हो । दोस्रो, समावेशीताका हिसाबले म महिला हुँ । आधाभन्दा बढी जनसंख्या ओगट्ने महिलाको प्रतिनिधित्व गर्न सक्छु भन्ने मलाई पूर्ण विश्वास छ ।
  • मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
मतदातामा आक्रोश छ । ‘विगतमा हामीले आफूलाई प्रमुख भन्ने दललाई मत दिएर जिताएर पठाएका हौं, तैपनि संविधान बनेन । अब पनि संविधान बन्छ भन्ने के ग्यारेन्टी ?’ भनेर मतदाताले प्रश्न गर्ने गरेका छन् । बढ्दो महँगी, असुरक्षा, महिलामाथि भइरहेका दुव्र्यवहारजस्ता घटनाले मतदातामा आक्रोश बढाएको छ । दलहरूले जनतालाई मागी खाने भाँडो बनाए, अब जो आए पनि के फरक पर्छ ? भन्ने प्रश्नको हामीले सामना गर्नुपरेको छ । मतदातामा अब संविधान बन्छ कि भन्ने झिनो आशा पनि देखिएको छ । र, जसरी पनि संविधान बनाउनुपर्छ भन्ने उहाँहरूको चाहना पनि हामीले बुझेका छौँ । हामीले मतदाताको मिश्रित प्रतिक्रिया पाएका छौं ।
  • तपाईंले निर्वाचनमा जित्ने आधार के के हुन् ?
पहिलो, हामी आफ्नो सिद्धान्तमा निरन्तर कटिबद्ध छौं । हाम्रो पार्टी नेकपा (संयुक्त) ले अहिलेसम्म बद्नाम हुने कुनै काम गरेको छैन । हाम्रा नेताहरू सभासददेखि मन्त्रीसम्म बन्नुभएको छ । तर, आर्थिक अपारदर्शीतामा उहाँहरू कहिल्यै पनि जोडिनुभएको छैन । समग्रमा भन्दा हामी कम्युनिस्ट पार्टीको सिद्धान्तप्रति इमान्दार छौं । तर, हामीलाई सबैले सोध्ने गर्नुहुन्छ –तपाईंको सानो पार्टी, यसको अब राजनीतिक हैसियत के होला ? हुन पनि हो, हामी सिद्धान्तप्रति मात्रै अडिग छौं । अन्य दलले जसरी हामीले पैसा लिएर धनाढ्य व्यापारी वर्गलाई सभासद बनाउने काम गरेनौं । यो कम्युनिस्ट पार्टीको सिद्धान्तविपरीत हुन्छ । पछिल्लो समयमा के मानसिकताको विकास भयो भने पैसावाललाई पार्टीमा भित्र्याउन सकियो भने मात्र ठूलो दल बन्न सकिन्छ । यो मानसिकताले गर्दा मुलुकमा विकृति फैलिएको छ । निर्वाचन आचारसंहिताविपरीत ठूला दलका नेताहरूले निर्वाचनमा पैसा बाँड्नुभएको छ ।
  • तपाईंहरूले चाहिँ कत्तिको खर्च गर्नुभएको छ त ?
एक त हामी सानो पार्टी, दोस्रो हामीसँग बाँड्न सक्ने पैसा नै छैन । मैले उम्मेदवारी दिएपछि केही साथी र शुभचिन्तकहरूले मलाई केही सहयोग गर्नुभएको छ । तर हामीले पैसा उठाउन पहल गरेनौं । दाताहरू पनि ठूलो दललाई पाँच लाख दिन्छन्, हामीलाई पाँच हजार पनि दिन मान्दैनन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारलाई १० लाखसम्म खर्च गर्ने अधिकार दिएको छ । तर, हामी त्यत्रो पैसा खर्च गर्ने अवस्थामा पनि छैनौं । मैले त पर्चा पम्प्लेट पनि पर्याप्त छाप्न सकेको छैन । साथीहरूको सहयोगमा मतदाताको घरदैलोसम्म चाहिँ म पुगेको छु । वास्तवमा हामीले पैसाको बलमा चुनाव जित्ने सोच बनाएकै छैनौं । पैसा खर्च गर्न मेरो चरित्रले पनि दिँदैन । पैसा खर्च गरेर चुनाव जित्ने सोच नै खराब हो ।
  • ठूलोमध्येको दल नेकपा–माओवादीलाई बाहिर राखेर निर्वाचन कसरी सफल हुन्छ भन्ने आवाज उठिरहेको छ । तपाईँ के भन्नुहुन्छ ?
हामीले सबैलाई समेटेर लैजानुपर्ने थियो, त्यो सम्भव भएन । अहिले पनि माओवादीलगायतका दल बाहिर छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी दल मिलेर गठन गरेको संयन्त्र नै गलत थियो । त्यसले गर्दा माओवादीलाई सहमतिमा ल्याउन सकिएन । विगतमा जुन कारणले संविधान नबनेको हो , त्यसको समीक्षा गर्दै सबै दललाई सहमतिमा ल्याएर संविधान बन्ने आधार तयार गरेर मात्र निर्वाचनमा जानुपथ्र्यो । तर, दुर्भाग्य त्यसो हुन सकेन ।
अहिले पनि समानुपातिकतर्फ १२२ दलले मनोनयन दर्ता गराएका छन् । भोलि सबै दलका १–१ जना सभासद आए भने उनीहरूले विचारको प्रतिनिधित्व गर्दैनन् । त्यसकारण अब संविधानसभा झन् किचलो हुनेछ । त्यसैले अब पनि संविधानसभाबाट संविधान बन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । यति हुँदाहुँदै पनि चुनाव होस् भन्ने सबैको चाहना छ । किनभने चुनाव वैधानिक प्रक्रिया हो । चुनावपछि एउटा राजनीतिक दलको नेतृत्वमा सरकार गठन त होला, तर संविधान नै निर्माण होला भन्ने यकिन छैन ।
  • तपाईंसँग महिला उत्थानका एजेन्डा के के छन् ?
म आफैं महिला हुँ । राजनीति सुरु गरेदेखि नै म महिलाका यावत् समस्याबारे जानकार छु । नेपालमा महिलामाथि असमानता कायम छ । महिलालाई आज पनि दोस्रो दर्जाको नागरिकको रूपमा हेरिने गरिएको छ । जबसम्म महिलाको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन सकिँदैन, तबसम्म मुलुुकको विकास सम्भव छैन ।
अर्को कुरा,
राष्ट्र निर्माणका लागि आधाभन्दा बढी जनसंख्यामा रहेका महिलाको समान सहभागिता जरुरी हुन्छ । महिलालाई सम्मान तथा हरेक क्षेत्र र निकायमा समान सहभागिताको कुरालाई मैले मुख्य मुद्दा बनाएको छु ।
महिलाको भूमिका नीति निर्माण तहमा के हुन सक्छ भन्ने ढंगबाट सोच्न जरुरी छ । अहिले संविधानसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्वको कुरा उठेको छ । महिलालाई ३३ प्रतिशतले मात्र पुग्दैन । कम्तीमा ५० प्रतिशत महिला सहभागिता आवश्यक छ । यहाँ महिलाको सुरक्षा छैन । दिनदिनै कथित बोक्सीको आरोपमा कयौं महिलाको हत्या हुने गरेको छ । त्यसलाई रोक्न राज्यले कडा कानुन ल्याउन जरुरी छ । यदि मैले संसदमा् प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेँ भने महिलाका सबै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
  • निर्वाचनमा तपाईंको दलले कति सिट ल्याउने अपेक्षा गर्नुभएको छ ?
हामीले निर्वाचनबाट ठूलो दल बन्ने सपना देखेका छैनौं । प्रत्यक्षतर्फ हामीले सबै क्षेत्रमा उम्मेदवारी पनि दिएका छैनौं । हुन त निर्वाचनको बेला सबै दलले आफू सबैभन्दा ठूलो दल बन्ने दाबी गर्छन् । तर, पहिलो संविधानभाको निर्वाचनमा भन्दा हाम्रो पार्टीको सिट आगामी निर्वाचनमा केही अवश्य पनि बढ्छ । हामीले प्रत्यक्षमा २ सिटसम्म जित्ने अपेक्षा गरेका छौं । समानुपातिकको निर्वाचनतर्फ १० सिट ल्याउने हाम्रो अपेक्षा छ ।
कल्याणी शाह
उम्मेदवार
काठमाडौं क्षेत्र नम्बर १ (नेकपा संयुक्त)

साभार : ‘हिमालय टाइम्स’
IP

, , , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.