पछिल्ला सामग्री :
मुहार फेरिँदै वाग्मतीको…(फोटोसहित)

शब्द तस्बिर : शम्भु रेग्मी
काठमाडौं । वाग्मती नेपालीको सभ्यता हो । उतिवेला उपत्यकावासीका लागि वाग्मती एउटा प्राण नै बनेको थियो । पिउने, लुगा धुने, वस्तुभाउलाई खुवाउने, अन्य सरसफाइ गर्ने अनि गंगाभन्दा पवित्र वाग्मतीको पानीले नुहाउने गरिन्थ्यो यहाँ । पवित्र थियो वाग्मती । राजधानीवासीको सभ्यता बनेको थियो । तर, राजधानीमा बढ्दो जनघनत्वसँगै वाग्मतीमाथि चौतर्फी आक्रमण भयो । आक्रमण गरियो । कहीं नदीको बहाव फर्काएर, कतै अतिक्रमण गरेर तथा धेरैले घरको फोहोर फाल्ने र शौचालयको ढल सिधै वाग्मतीमै मिसाएर आफ्नो असली रूप देखाएर ।

झन्डै–झन्डै लोप हुने अवस्थामा पुगेको । प्राण गुमाइसकेको । अस्तित्व हराइसकेको वाग्मती बल्ल अलिअलि श्वाससम्म फेर्ने अवस्थामा पुगेको छ । यसको प्राण भर्ने काममा तत्कालीन मुख्यसचिव लीलामणि पौडेल लागे । पौडेलले वाग्मती सफाइको अभियानै चलाए । प्रत्येक शनिबार वाग्मतीका लागि छुट्याए । सफाइका लागि सबैलाई आह्वानसमेत गरे । उनको होस्टेमा हैंसे मिलाउन राजधानीवासी सहमत बने । सबैले साथ दियो । प्रशासन, नागरिक समाज, अगुवा, कलाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था सबै उनको हातमा हात मिलाउन सामेल भयो ।

उनको अभियानले अझै पनि निरन्तरता पाएकै छ । उनी मुख्यसचिवबाट अवकाश पाए । अहिले चीनका लागि राजदूतसमेत भई पदभार ग्रहण गरिसकेका छन् । उनको अभियानलाई निरन्तरता दिन वर्तमान मुख्यसचिव सोमलाल सुवेदी पनि सक्रिय भए । आफ्नातर्फबाट गर्नुपर्ने सबै काम गरे । शनिबार आफैं वाग्मतीमा हेलिएर फोहोर निकाले । उनलाई पनि महानगरपालिका, सेना, प्रहरी, नागरिक समाज सबैले उत्तिकै सहयोग गरे । सुवेदी पनि अभियानमा निरन्तर लागे, वाग्मतीलाई कमसेकम निरन्तर फोहोरै पानी सही बग्ने अवस्थामा त पुर्‍याए ।

वाग्मती अहिले निरन्तर बगिरहेको छ । कालो पानी नै किन नहोस् बगिरहेको छ । वाग्मतीछेउ बस्ने सुकुम्वासी परिवारले शौचालय मिसाउने प्रवृत्ति शून्यमा झरेको छ । फोहोर फाल्न बन्देज लगाइएको छ । वरपरका सर्वसाधारणमा जनचेतना जगाइएको छ । सबै जागरुक भएका छन् । सबै सभ्य भएका छन् । वाग्मती सभ्यताले पुनर्जीवन पाएको छ । यद्यपि वाग्मतीछेउका केही घरले भने अझै ढल मिसाइरहेको अवस्था भए पनि यो नगन्य रूपमा छ ।

प्रत्येक शनिबार नेपाल टेलिकमले उपत्यकावासीलाई वाग्मती सफाइका लागि म्यासेज पठाएर आह्वान गर्छ । बोलाउँछ । भेला भई सफाइमा सरिक हुन आग्रह गर्छ । वाग्मती सफाइमा महानगरका सफाइ कर्मचारी पनि उत्तिकै दत्तचित्त भएर लागेका छन् । विभिन्न संघसंस्थाको पहलमा वाग्मतीकिनारमा संरक्षित उद्यान बनाइन थालिएका छन् । केही बनिसकेका छन् । उपत्यकावासीको मौलिक सभ्यता फर्काउन महानगरपालिका पनि उत्तिकै जिम्मेवार भएर लागेको छ । यता वाग्मती सभ्यता विकास समिति पनि लागेको छ । यसमा सबैको सहयोग उत्तिकै छ । ‘वाग्मतीमा थोरै किन नहोस् । पानी बगेकै छ, पहिलेको तुलनामा धेरै सफा पनि भएको छ,’ अभियन्ता तथा नेकपा संयुक्तका अध्यक्ष एवं पूर्वमन्त्री गणेश साह भन्छन्, ‘२ वर्षअघि हामीले वाग्मतीमा माछा छाड्यौं, ती बाँचे÷बाँचेनन् थाहा भएन अब वाग्मतीलाई माछा पौडने, सर्वसाधारणले नुहाउन मिल्ने किसिमको बनाउन जरुरी छ ।’

वाग्मती सफाइका लागि ‘वाग्मती फोहोर उन्मूलन नमुना उपभोक्ता समाज’ समेत गठन भएको छ । यो वाग्मतीकिनारका सुकुम्बासी बस्तीका केही युवाको सक्रियतामा सञ्चालित छ । संगठित रूपमा यस्ता धेरै संघसंस्था निस्वार्थ रूपमा वाग्मती सफाइ अभियानमा लागेका छन् । पहिले हिउँदमा त वाग्मती वारपार सजिलै गर्न सकिन्थ्यो फोहोर हिलो सुकेर, कट्कटीएर बच्चा पनि वाग्मती सहजै ओहोरदोहोर गर्ने अवस्था थियो । तर, अहिले समय फेरिइसकेको छ । वाग्मतीको सरसफाइ यहीअनुरूप हुँदै गए कुनै दिन यसमा नुहाउन सक्ने अवस्था पुनः आउनसक्ने अभियन्ताहरूको विश्वास छ ।

हुतराम वैद्य वाग्मती सफाइका अभियन्ता । आफ्नौ मौलिक सभ्यता जोगाउनुपर्छ भन्दै उनी निरन्तर यसमै खटिए । अरूले कुरा गरे उनले कामै गरे । वाग्मती सफाइ गर्दा गर्दा प्राण त्यागे । उनले न दिन भने न रात, उनले न वर्षा भने न हिउँद निरन्तर सफाइमा लागिरहे, लागिरहे । उनको काम देखेर जो पनि नतमस्तक हुन्छ । ‘वाग्मती हाम्रो प्राण हो, यसैको त्राण जोगाउन लागेको हुँ,’ पंक्तिकारसँग झन्डै ७ वर्षअघि हुतरामले भनेका थिए, ‘मेरो एक्लो प्रयासले मात्र कहाँ होला र सबैको प्रतिबद्धता र इमानदारीको आवश्यकता छ । वाग्मतीको सभ्यता फर्काउन ।’

वास्तवमा वाग्मती एक व्यक्तिको सम्पदा होइन । यो नेपालकै पहिचान हो, सभ्यता हो, धरोहर हो । यसको संरक्षणमा कुरा होइन काम नै आवश्यक छ । सबैले आ–आफ्ना क्षेत्रबाट सफाइका लागि सक्दो पहल गरौं, सहयोग गरौं । यसमै लुकेको छ हाम्रो गर्व, यसमै लुकेको छ हाम्रो पहिचान ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.