पछिल्ला सामग्री :
किन मिचिन्छ सीमा, राज्य कता छ ?

काठमाडौं । सीमा मिचिनु कुनै देशका लागि सह्य हुँदैन । कसैले पनि राज्यको एक अंगुल जमिनमाथि अन्य मुलुकको हस्तक्षेपलाई सोझै नकार्छ । सार्वभौम राज्यको आफ्नै अस्तित्व रहन्छ । उसको आफ्नै गौरव रहन्छ । आफ्नै अस्तित्व र गौरवमा रुमल्लिएको राष्ट्रमाथि बाह्य राष्ट्रको दमन, हेप्ने प्रवृत्ति र उसको सार्वभौम अधिकारलाई कुल्चने चेष्टा कसैका लागि मान्य रहँदैन । यो त सर्वमान्य सिद्धान्त हो । सर्वमान्य सिद्धान्त सबैलाई ज्ञात छ र हुन्छ पनि । तर, सर्वमान्य सिन्द्धान्तको धज्जी उडाउँदै कमजोर राष्ट्रमाथि ठूला मानिएका राज्यको हस्तक्षेप र दमन भइरहने घटना विश्वव्यापी भइरहेको देखिन्छ ।

टाढा जानै पर्दैन । हाम्रै अनन्य छिमेकी मुलुक भारतलाई हेर्दा थाहा हुनसक्छ । भारतले आफ्ना छिमेकी मुलकप्रति गर्ने व्यवहार जगजाहेर नै छ । उसका छिमेकी राष्ट्र नेपाल, पाकिस्तान, बंगलादेश, भुटान सबै पीडित बनेको अवस्था छ । कसरी हुन्छ छिमेकलाई हेपौं, कसरी हुन्छ छिमेकमाथि दमन गरौं र आफ्नो प्रभुत्व स्थापित गरौं भन्ने मानसिकतामा भारत रुमल्लिरहेको देखिन्छ । उसका छिमेकीले गर्ने हरेक कुरामा चासो राख्नुपर्ने, हरेक कुरा आफूअनुकूल रहनुपर्ने मान्यता राख्छ । आफ्नो मुलुकमा जे होस भारतलाई मतलब छैन, छिमेकी मुलुकका विभिन्न घटनाप्रति अनावश्यक दिलचस्पी राख्ने भारतको प्रवृत्ति देखिन्छ ।

अरू मुलुकहरूसँग भारत बढी नै हावी हुने गरे पनि पाकिस्तानसँग भने नतमस्तक रहन्छ । सोझै जाइलाग्ने हिम्मत गर्न सक्दैन । अभिव्यक्तिबाट पाकिस्तानलाई चिढ्याउने काम गरे पनि अरूको तुलनामा केही भन्ने र गर्ने आँट भारतमा कम देखिन्छ । किनकि भुगोलमा पाकिस्तान भारतभन्दा सानो भए पनि उसको दमन सहन सक्दैन । तत्काल प्रतिक्रिया दिइहाल्छ, चुनौती दिन पछि हट्दैन । आक्रमणका लागि भारतले ललकारेको खण्डमा ऊ पनि जाइलाग्छ तयार भएर बस्छ ।

तर, पाकिस्तानसँग जोरी खोज्न नसक्ने भारत अन्य सार्वभौम छिमेकी मुलुकलाई आफ्नै उपनिवेशसरह सम्झन्छ । कुरा नेपालतर्फै । भारतले गतवर्ष गरेको नेपालमाथि गरेको वर्षदिनको नाकाबन्दी कुन नेपालीले भुलेको होला र । भारतले नेपालमाथि गतवर्ष गरेको नाकाबन्दी पहिलोपटक भने होइन् । उसले आफ्ना कुरा स्थापित गर्नैका लागि पनि यस्ता नाकाबन्दी नेपालमा पटकपटक गरिसकेको अवस्था हो ।


नेपालको सीमा मिच्नमा भारत अग्रणी छ । ठूलो भूभाग ओगटेको भारतलाई नपुगेरै नेपाली सीमा मिचेको भन्दा पनि हेपाहा मनोवृत्तिले उसको दिमाग सञ्चालनले यस्तो हुन गरेको मान्न सकिन्छ । हजारौं हेक्टर जमिन, सयौं सीमास्तम्भ भारतले हडप गरिसकेको अवस्था छ । उसलाई पुगेको छैन । उसलाई आफ्नोमा सन्तुष्ट छैन । अरूले सन्तुष्टलाई सहन गर्नसक्नै धैयशील क्षमता पनि छैन । त्यसैले त बेलाबेलामा आफ्नो असली रूप प्रदर्शन गरिरहेको छ । कालापानी, सुस्ता, महाकालीमा उस्तै सीमा मिचिरहेको छ । भएका सीमा स्तम्भ उखेल्ने, फल्ने, नष्ट गर्नेमा भारत उद्धत देखिन्छ ।

नियत नै दुःख दिने भएपछि कसको के लाग्छ । पछिल्लो समय भारतीय सीमावर्ती जिल्ला झापामा सीमा स्तम्भ उखेलेर नेपाली भूमि भारतले अतिक्रमण गरेको समाचारहरू सार्वजनिक भएका छन् । यो नौलो कुरा होइन । तर, भारतलाई कहिलेसम्म यसरी हामीमाथि दबाब, प्रभाव र प्रलोभनमा पार्न उक्साउने ? समाचारअनुसार दशकअघिको तथ्यांकले १९ सीमा स्तम्भ हराएको मध्ये अहिले १९४ वटा हराई सकेका छन् । कहाँ गए यी स्तम्भ राज्यले खोजी गर्नुपर्दैन । राज्य कता सुतेर बसेको छ रु संसदको अवरोध खुलाउने विषय ठूलो कि सीमा मिचिएको ? सोच्न जरुरी भइसकेको छ । सत्ता टिकाउने खेलमा लाग्नुभन्दा पनि राज्यको सार्वभौमसत्ता, अखण्डता जोगाउनतर्फ सबै राजनीतिक दल, नागरिक समाज, जनता लाग्नुपर्ने अवस्था आइसकेको छ ।

नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पटकपटक यो विषयमा कुरा नउठाएका पनि होइनन् । उनले खबरदारी त गरिरहेका छन् । तर, सुनिदिने कसले ?, पहल गरिदिने कसले ? प्रश्न उठेको छ ।

सीमाविद् श्रेष्ठका अनुसार झापा जिल्लाको नेपाल–भारत सीमा १४६ किलोमिटर क्षेत्रमा मुख्य, सहायक र सानो गरी ३ किसिमका स्तम्भ छन् । सीमा सुरक्षा कार्यालय झापाका अनुसार मुख्य स्तम्भ ७६, सहायक स्तम्भ १२१ र सानो स्तम्भ ७०१ गरी ८९८ वटा रहेकामा १९४ वटा हराएका हुन् । तिनमा मुख्य ५, सहायक २३ र सानो स्तम्भ १६६ वटा छन् । स्थानीयवासीका अनुसार भएका सीमा स्तम्भहरू भारतीय पक्षले उखेलेका हुन् । नेपाली नागरिकका नाममा जग्गाको लालपुर्जा रहेको छ । तर, त्यो जग्गा भने भारतीय भूमिमा परिसकेको अवस्था छ । सीमाविद् श्रेष्ठका अनुसार नेपालका ७१ स्थानका गरी झन्डै ६०६ वर्गकिलोमिटरभन्दा धेरै सीमा भारतले मिचेको छ ।

अधिकांश सीमा नाकामा भारतीय सीमा सुरक्षा बल जंगे पिल्लरसँगै ‘नो मेन्स लेन्ड’ क्षेत्रभित्र पोस्ट बनाएर बसेको छ । भारतको हेपाहा प्रवृत्ति यसबाट पनि प्रस्टिन्छ । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशका नागरिक ‘नो मेन्स लेन्ड’ भित्र बस्न मिल्दैन ।

हुन त २०७२ वैशाख १२ को भूकम्पका बेला भारतले नेपाललाई राम्रै सहयोग गरेको थियो । यसालाई नेपालीले भुल्नु हुँदैन र भुलेका पनि छैनन् । तर, राज्यको अस्तित्वमाथि नै आँच आउने गरी भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्ने सिलसिला बन्द गरिनुपर्छ । तत्काल रोकिनुपर्छ । यो सिलसिला नरोकिए नेपाली पक्षले पहल थाल्नुपर्छ । जनता आँशु पिइरहेका छन् । हातमा बिघौंका लालपुर्जा छन्, तर सुकुम्बासी भएर बस्न बाध्य । यसतर्फ राज्यले सक्दो चाँडो पहल थाल्नुपर्ने आवश्यकता देखिन्छ ।

उपसंहार
हामीले हाम्रो मानसिकता बलियो बनाउन जरुरी छ । विभिन्न आयोजना छाडेर पहिला सीमाको ठेगान लगाउन जरुरी देखिन्छ । आपसमा खिचातानी कहिलेसम्म ? आफ्नो मात्र उन्नति कहिलेसम्म रु राज्यको बारेमा सोच्ने कहिले ? अब केही सोच्न जरुरी छैन । पहिला सीमा कायम गरौं । आफ्नो भूभाग छुट्याऔं । अनि गरौंला विकास, अनि गरौंला समृद्धिका कुरा । देशै नरहे कसरी नेपाली बन्ने ?  यो कुरो सोच्न जरुरी छ । लगानी छैन पनि कसरी भन्ने । यहींका केही उद्योगी व्यवसायीलाई राज्यले गुहारेको खण्डमा पनि एउटा–एउटा सीमा स्तम्भ त सहयोग स्वरूप पनि बन्ने नै थियो । अरू कामलाई थाती राखेरै भए पनि सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ मनन गर्न आवश्यक छ । उनको सुझाव पालना गर्न आवश्यक छ । सार्वभौम नेपाली भई बाँच्न चाहने सम्पूर्ण नेपालीको मनोकांक्षा पूरा गर्नु अहिलेको राज्यसत्ताको दायित्व हो भने चुनौती पनि । चेतना भया ।
शम्भु रेग्मी
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.