पछिल्ला सामग्री :
फुटपाथ व्यापारले मनग्य आम्दानी, यी हुन् प्रतिनिधि पात्र

सत्यबहादुर तामाङ ।
शम्भु तामाङ ।
देवी चौलागाईं ।
ध्रुव बस्नेत ।
काठमाडौं । जीवन चलाउन मानिसका आ–आफ्नै तौरतरिका हुन्छन् । विभिन्न पेसा, व्यवसाय सञ्चालन गरी जीवनयापनलाई सहज र सरल बनाउन मानिस यत्नशील हुन्छ । आज हामीले यसरी फरक तरिकाले जीवनलाई सुन्दर रूपमा परिभाषित गर्ने केही प्रतिनिधिपात्रलाई तपाईंसामु प्रस्तुत गर्न गइरहेका छौं ।

प्रदर्शनीमार्गको भृकुटीमण्डप छिर्ने गेटमै एउटा नाङ्लोमा राखिएको सामान बेच्नमै व्यस्त देखिन्छन् काभ्रे पनौतीका सत्यबहादुर तामाङ । उनी बिहान झिसमिसेमै आएर साँझ अबेर मात्र फर्किन्छन् । उनको नाङ्लोमा चुरोट, सुर्ती, गुट्खा, चकलेट, छुर्पी, चुइँगमलगायत खित्रिमित्री मिलाएर राखिएका हुन्छन् । ‘राम्रै आम्दानी हुन्छ, मेरो परिवार यसैबाट चल्छ,’ सत्यबहादुर भन्छन्, ‘कहिले राम्रै बिक्री हुन्छ कहिले अलिअलि मात्र हुन्छ । मैले आम्दानीबाट सन्तोषको जीवन चलाइरहेको छु ।’ ५८ वर्षीय सत्यबहादुर दिनमा सय, पचासको आम्दानी हुने बताउँछन् । यो सय, पचास भन्या कति हो नि भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘यस्तै राम्रो बिके २५ सय ३ हजार हुन्छ ।’ उनले फुटपाथमा व्यापार थालेकै १२ वर्ष नाघिसक्यो । ‘बूढो भइयो, १२ वर्ष धेरै भएहोला नाङ्लोमा खुद्रा सामान बेच्न थालेको,’ उनी भन्छन्, ‘कैलेसम्म सकिएला र सडकछेउ उभिएर व्यापार गर्न, सकिन्जेल त व्यापार गर्नैपर्ला बाबु ।’ उनी व्यापारबाट आफ्नो खर्च राम्रैसँग चलेको बताउँछन् । व्यापारकै कारण २ पैसाका लागि सकैसँग हात फिजाउनु नपरेको उनको बुझाइ छ ।

भृकुटीमण्डप छिर्ने गेटको अर्कोतर्फ धादिङका ६२ वर्षीय ध्रुव बस्नेत अमला बेच्न व्यस्त थिए । क्याम्पस पढने केही युवतीले १० रुपैयाँको ४ वटाका दरले २० रुपैयाँको अमला किने । बस्नेतले पछि २ वटा अमला थपिदिए । ती युवतीहरूले २० रुपैयाँको १० वटा अमला लिएर गए । त्यसपछि उनी हामीसँग कुरा गर्न तयार भए र भने, ‘२२ वर्ष नाघ्यो कि बाबु, नाङ्लोमा व्यापार थालेको, कमाइ ठीकै छ ।’ उनका पीरका पोका पनि बेग्लै छन् ।

नगर प्रहरीले बेलाबेलामा दुःख दिने गरेको उनी बताउँछन् । ‘के गर्नु बाबु काम त गरिखानै पर्यो, बेलाबेलामा आएर म बूढोलाई पनि खेदछन्–नगरपालिकाका पुलिसले ।’ बस्नेत झिसमिसेमै आउँछन् । भृकुटीमण्डपभित्रै रहेको ढकालको तन्दुरी ढाबामा बिहानको खाना रोटीतरकारी खान्छन् अनि साँझ ७ बजेतिर डल्लुमा रहेको कोठातिर लाग्छन् । उनले सिजनअनुसारको व्यापार गर्ने बताए । भन्छन्, ‘जे सिजनमा छ त्यही बेच्छु, आजभोलि अमला र बदामको सिजन भएकाले यही त राख्ने हो ।’ बस्नेतको नाङ्ले पसलमा भुटेको चना, भट्टमास, बदाम, अमला, चुरोट, चकलेट तथा केराउ पाइन्छ । उनले भने, ‘यसैबाट जहान बच्चा पालेको छु ।’

पुरानो बसपार्क छेवैमा राष्ट्रिय सभागृहको पर्खालमा आड लागेर एन्ड्रोइड मोबाइलमा तास खेलिरहेको भेटिए भोजपुरका शम्भु तामाङ । दुइटा तस्बिर खिचुन्जेल उनले पत्तै पाएनन् । के गर्दै हो भन्ने प्रश्नसँगै उनी झस्किए । अनि भने, ‘ट्याम पास गर्या ।’ मोबाइलमा फिल्म हेरेर टाइम पास गरेको हो र भन्ने प्रश्नसँगै शम्भुले भने, ‘काँ हुनु नि, तास खेल्या पो, कल्ब्रेक ।’ समय बिताउन उनले मोबाइलमा तास खेल्दा रहेछन् । जोरपाटीमा दिदीको डेरामा बस्दै आएका शम्भु खानाखाईवरी पुरानो बसपार्क, रत्नपार्क छेउछाउ जता अलि खाली ठाउँ देख्छन् त्यतै एउटा बोरा सडकमै ओच्याउँछन् । अनि नेलकटर, औंठी, मालालगायत सामग्री फिजाउँछन् । ‘ग्राहक आएका बेला सामान दिने हो । अरू बेला त मोबाइल खेल्छु,’ उनी भन्छन् । साथमा उनले मानिसको तौल नाप्ने मेसिनसमेत राखेका छन् । अरू सामानभन्दा तौलिने मेसिनबाट राम्रै कमाइ हुने उनी बताउँछन् । ‘यो तौलिने मेसिनले राम्रै फाइदा दिएको छ । दिनमा हजारभन्दा बढी यो मेसिनले नै कमाउँछ । यो चोखो फाइदा हो,’ शम्भुले भने । दिनमा २ हजारजति आम्दानी हुने उनी बताउँछन् ।

उनी १० वर्षे माओवादी द्वन्द्वका पीडितसमेत रहेछन् । भोजपुरबाट माओवादीले लखेटेपछि उनी काठमाडौंमा दिदीको आश्रयमा आइपुगेका हुन् । ‘धेरै पढेको छैन । ८ कक्षा पढदापढदै माओवादीले गाउँबाट खेद्यो । के गर्नु काठमाडौं आएपछि कुनै इलम त गर्नैपर्यो,’ ३० वर्षीय शम्भुले मनको पोयो फुकाए, ‘धेरै पढेको भए पो राम्रो जागिर पाइन्थ्यो होला । पढन पाइएन कसरी ठूलो मान्छे बन्नु ? सडकमा यही सामान बेचेर जीवन चलाइरहेको छु । व्यापारबाट सन्तुष्ट देखिएका शम्भुले अलिअलि कमाएर घरजम गर्नुपर्ला हाँस्दै भने ।

शम्भुको सडक पसलको छेवैमा अर्कोतर्फ दोलखा मैनापोखरी गाविस काभ्रेकी देवी चौलागाईं कागती भाग लगाउँनमै व्यस्त थिइन् । २ वटा फोटो खिचेपछि उनले थाहा पाइन्, माथि हेरिन् र भनिन्, ‘कागती राम्रो लागेर फोटो खिच्नु भ को भाइ ?’ हो नि दिदी कति बेच्नुहुन्छ दिनमा कागती ? मेरो प्रश्नमा मास्तिर हेर्दै भनिन्, ‘३० देखि ४० किलो बिक्छ, कहिले त थोरै पनि बिक्छ ।’ ४५ वर्षीया देवीले सडकमै व्यापार गर्न थालेको ९ वर्ष पुगेछ । कागतीसँगै उनले अमला पनि बेच्नका लागि राखेकी छन् । दिनमा फाइदा मात्रै कति हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘हजारदेखि बाह्र सय ।’ यही व्यापारबाट उनले बागबजारमा आफू बस्दै आएको कोठाभाडा तिर्छिन् । छोराछोरीलाई यसैबाट पढाउँछिन् र आफ्नो दैनिक खर्च पनि यसैबाट चलाउँछिन् ।

गरिखान के को लाज ? काम सानोठूलो नमानी कर्म गर्नेलाई फल पनि सन्तोषकै मिल्ने उनीहरूको कुराकानीबाट बुझियो । हामी कामलाई वर्गीकरण गर्छौं, सानोठूलो भन्छौं यही त हो प्रगतिको बाधक । त्यसैले कामलाई सानोठूलो नभनी सडकमै व्यापार गरी सन्तोषको जीवन बिताउने कर्मशील हातहरूलाई हाम्रो पनि सलाम छ ।
शब्द, तस्बिर : शम्भु रेग्मी
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.