पछिल्ला सामग्री :
राजधानी काठमाडौं उही बनाउ, उही भत्काउँ सास्तीमा सर्वसाधारण

मेलम्ची खानेपानीका लागि काठमाडौंको माइतीघर मण्डला–सिंहदरबार खण्डमा खनिएको सडक ।
काठमाडौं । ‘सरकारी काम, कहिले जाला घाम’ हाम्रो पुरानै संस्कार भनौं रोग हो । हामी काम कम बोल्ने धेरै गर्छौं । दोष अरूलाई थोपर्छौं, आफूलाई सत्य साबित गर्छौं । काम गर्दैनौं निर्देशन दिन्छौं । कसैले गर्न लागेको काममा भाँजो हाल्ने प्रयास गर्नु त सामान्य नै हो । हाम्रो प्रवृत्ति बाँदरे भइसक्यो यानि न आफू गर्ने न अरूलाई गर्न दिने । यस्तो प्रवृत्तिबाट मुक्ति नपाउँदासम्म हाम्रो विकास हुने असम्भव प्राय बनेको छ ।

यस्तो हेर्न टाढा जानै पर्दैन हाम्रै वरपर हेरौं । प्रशस्त भेट्न सक्छौं । अवपाद थोरै, वास्तविकता धेरै । हामीमा कहाँ समस्या छ, त्यसतर्फ त परै जाओस् सुझाव सुन्न समेत तयार हुँदैनौं । कुरो मेलम्चीको, खानेपानीको, उपत्यका सफा गर्ने मेलम्चीको आयोजनाको । यो खानेपानी आयोजना कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दाताकाबाट सुरु भएर अहिलेसम्म घिसिपिटी अवस्थामै गुज्रिरह्यो । तङ्ग्रिनै सकेन, उठनै सकेन । मुलुकबाट राजतन्त्र समाप्त भयो । गणतन्त्रमा बामे सरेकै अवस्थामा मेलम्चीको पानीको सपना राजधानीवासीका लागि साकार हुने अवस्था पुगेको हो ।
हो अहिले राजधानीमा कहीं उमङ्ग, कहीं विस्मात त कहीं आक्रोश छ । जसले मेलम्चीको पानी उपभोग गर्न पाउँछन्, त्यो समुदाय त उमंग हुने नै भयो, जसले उपभोग गर्न सक्दैनन् उसलाई हर्ष न विस्मात् अनि जसले उपभोग गर्न त पाउँछन् त्यसले जग्गा दाउमा लगाउनुपरेको अवस्था छ । जसले मुआब्जा पाउन सकेका छैनन् त्यो समूहलाई भने आक्रोश हुनु स्वभाविकै हो । अब राजधानीवासीको मुहारमा केही भए पनि मेलम्चीको पानी खान पाइनेमा आश्वस्त जागेको देखिन्छ । पानी सबैका लागि आवश्यक भए पनि राजधानीवासीले लामो समयदेखि पानीमा सास्ती झेल्दै आएको अवस्था हो । राजधानीवासी सहज पानी आपूर्तिको पक्षमा रहेको लामो समय भएको छ ।

राज्य सत्ता केन्द्रिकृत भएकै कारण राजधानीमा जनघनत्व बढ्नु स्वाभाविकै हो । यही मेलम्चीको पानी राजधानीवासीलाई सुलभ रूपमा आपूर्तिका लागि सरकार पनि जोडतोडले लागेको छ । मेलम्ची खानेपानी आयोजनाले पनि आफ्नो कामलाई दिनरात नभनी निरन्तर जारी राखेको छ । पानी सर्वसुलभ वितरणको सम्मुखमा पुगेको छ आयोजना । २०७४ वैशाखमै उपत्यकामा पानी वितरण गर्ने लक्ष्य सहित योजनाले काम अघि बढाइरहेको छ । योजनाले उपत्यकामा पानी वितरणका लागि प्रायः सबै स्थानमा पाइप बिछ्याउने कार्य गरिरहेको छ भने कतिपय स्थानमा बिछ्याउने कार्य सम्पन्न समेत गरिसकेको छ ।

तर, पाइप बिछ्याउने क्रममा खनिएका सडकको अवस्था हेर्दा राजधानी पनि कुनै ग्रामीण क्षेत्रमा कुलो आधा खनेर छाडेको जस्तो प्रेरित हुन्छ । अलिअलि पानी पर्दा सडक हिलाम्मे, घाम लाग्दा धुलाम्मे । उफ् राजधानी, देशको केन्द्र सम्झिँदा पनि उदेक लाग्दो अवस्था छ । मेलम्चीको खानेपानीको पाइप बिछ्याउने भन्दै सडक खनिन्छ । लामो समय त्यहाँ पिच गरिँदैन । कथं पिच भइहाल्यो भने नेपाल टेलिकमले खनिदिन्छ । त्यो पनि पिच भयो भने त्यहीं ठाउँमा महानगरले ढल व्यवस्थित गर्ने भन्दै खनिदिन्छ । अनि लामो समय त्यसै अलपत्र छाडिन्छ सडक । बटुवा त्यही खाडलमा पर्छन् । चौपाया त्यही, सवारी साधन त्यही, अपांगता भएकालाई त के सद्धे व्यक्तिलाई हिँडन पनि सकस । सवारी साधनमा त झन् महाभारत । आखिर खनेपछि तुरुन्त पिच गरिदियो भने त सर्वसाधारणले पनि सकस धेरै व्यहोर्नुपर्ने थिएन ।

किन त ? यस्तो कसरी ? किन खन्दै, उही खन्दै, उही भत्काइँदै गरिन्छ । सर्वसाधारणको सोझो आँखाले यो बुझ्ने कुरो होइन । एकैपटक खनेर सबै काम सकेर पिच गरेको खण्डमा खन्दै, बनाउँदै, पुनः खन्नुपर्ने अवस्था त हुन थिएन होला । यतातर्फ ध्यान कसैको जाँदैन । सबै आफ्नो काम मात्रै ध्यान दिने तर पूरा नगर्ने परिपाटीले सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । मेलम्चीले पाइप बिछ्याउने मात्र हो महानगरले पो पिच गर्नुपर्छ भन्दै पन्छिन्छ । टेलिकमले तार बिछ्याउने मात्र हाम्रो काम हो महानगरले पो पिच गर्नुपर्छ भन्छ । अनि महानगर भने ढलको व्यवस्थापन पो हामीले गर्ने हो पिच गर्ने काम त सडक विभागको पो हो भन्दै पन्छिन्छ । अनि सडक विभाग भने महानगरको क्षेत्रमा भएकाले उसैले खनेपछि पिच पनि गर्नुपर्ने दायित्व हुन आउने जनाउँछ । आखिर जसले खन्ने हो खन्ने अनि जसले पिच गर्ने हो त्यही निकायले तत्काल पिच गरिदिए टन्टै साफ सबैले अरूतिरै चोर औंलो सोझ्याउँदा काम चाँडो हुन सकेको छैन ।

हामी विकास विरोधी होइनौं, तर आफ्नो जिम्मामा रहेको काम तत्काल अरूको मुख नताकी तत्काल गरेको खण्डमा राजधानीको मुहार फेरिन किञ्चित समय लाग्ने थिएन । सर्वसाधारण चैनको श्वास फेर्न सक्ने थिए । राजधानीका विभिन्न क्षेत्रमा खनिएका सडक समयमै पिच नहुँदा त्यस क्षेत्रका बासिन्दा, सोही सडक भएर वारपार गर्ने बटुवा तथा सवारी साधनले सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ ।

यस्तै २०७२ वैशाखको भूकम्पले झनै जनतालाई सास्ती दिएको छ । भूकम्पबाट सास्ती पाएका राजधानीवासीले सडक विस्तारका नाममा पनि उस्तै सास्ती खेप्नुपरेको अवस्था छ । सडक विस्तारका क्रममा सडकमा निर्माण सामग्री त्यतिकै थुपारिँदा बटुवालाई सास्तीका साथै धूलो र हिलोले पनि स्वास्थ्यमा प्रतिकूल असर पारेको छ ।

सडक विस्तारका नाममा सडक विस्तार आयोजनाले पनि भत्काइएका संरचनालाई सडकमै अलपत्र छाड्दा सडक साँघुरिएको छ । यसमा पनि सबैको मन जितेर सरकारले काम अघि बढाएको खण्डमा विरोधका स्वरहरू सुनिने थिएनन् कि । यसमा पनि सरकारले सडक विस्तार भन्दै सर्वसाधारणका संरचना विना मुआब्जा भत्काइँदिँदा विरोध हुनु स्वभाविकै हो । यसरी सर्वसाधारणको विरोधका कारण आधा भत्काइएका सडक पनि अलपत्र छाडिँदा राजधानी कुरुप बनेको छ भने सडक विस्ताको कार्य पनि सुस्त भएको छ ।

सडक विस्तारमा उपत्यका विकास प्राधिकरण र सडक विस्तार आयोजना सक्रिय बनेको छ । सडक विस्तार हुनु त सकारात्मक हो । योसँगै जनताको चित्त बुझाएर विस्तारको काम थालनी भएको भए अवरोध आउने पनि थिएन र सडकमा असरल्ल छरिएका भौतिक संरचनाका सामग्रीबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने थिएन ।

विस्तार आयोजनाका प्रमुख दीपक केसीका अनुसार सडक अतिक्रमित संरचना हटाउन नसक्दा विस्तार कार्यमा अवरोध आएको हो । उनका अनुसार जोरपाटी–सुन्दरीजल र सुनाकोठी–चापागाउ“मा डिक विस्तारमा समस्या उत्पन्न भएको छ । आयोजनाका अनुसार अधिकांश सडकको चौडाइ २२ मिटर छ । यहीअनुरूप विस्तार गर्दा सडक किनारका करिब १५ सय बढी घर हटाउनु पर्नेछ ।

यसरी जताततै एकैपटक सडक भत्काएर सडक कुरुप बनाउनुभन्दा भत्काएको क्षेत्रमा पुनर्निर्माण गरी अर्को क्षेत्रमा भत्काउने कार्य गरेको खण्डमा मिसनले सहज रूपमा पूर्णता पाउँथ्यो कि ।
- शम्भु रेग्मी
IP

, , , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.