पछिल्ला सामग्री :
वामनेतृ साहना प्रधानको जीवनी...!

नेपालकी वामनेतृ साहना प्रधानको जन्म काठमाडौँको अतिव्यस्त टोल, असन त्यौडको मध्यमवर्गीय व्यापारी-परिवारमा बुबा शंकरलाल प्रधान र आमा रम्भा प्रधानको कोखबाट वि.स. १९८७ साल असार ३ गते (सन् १९३२ जुन २५) मा भएको हो ।


उहाँ दुई वर्षकै हुँदै मातृस्नेहबाट बञ्चित हुनुभयो । त्यसको दुई वर्ष नबित्दै उहाँ हजुरआमा र बाबाका साथ बर्मा पुग्नुभयो । सातौँ कक्षाको अध्ययन पूरा गरी वि।सं. २००० सालमा काठमाडौँ फर्किनुभयो । २००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः साहना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान हुनुहुन्थ्यो । उहाँ गिरफ्तार हुनुभयो । १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि घर फर्कुनुभयो ।

२००४ सालमा एस्।एल्.सी. उत्तीर्ण गरी २००५ मा भाइ शंकर प्रधानसँगै लखनऊको इजावेल धोवन कलेज पुग्नुभएकी साहना आई. एस्सी. पूरा नगरी आई.ए. सक्नुभयो । २००७ सालमा नेपाल फर्केर तीनवटा स्कूल कन्यामन्दिर, शान्तिनिकुञ्ज र सीताराम हाइस्कूलमा पढाउनुभयो । महिला संघको महासचिव हुनुभयो । २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिँदै भक्तपुर र पाटनको एकसाथ नेतृत्व गर्नुभयो । २००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीएको ७२ जना परिक्षार्थी मध्ये उहाँ एकमात्र महिला हुनुहुन्थ्यो । सोही वर्ष उहाँको विवाह पुष्पलाल श्रेष्ठसँग भयो । पुष्पलाल राजनीतिमा सक्रिय हुनुभएकाले २०१३ सालपछि पारिवारिक जिम्मेवारी बढ्यो ।

२०१७-०३५ सालमा उहाँको राजनीति प्रायः मृत अवस्थामा रह्यो । २०३५ साउन ७ (सन् १९७८ जुलाई) मा पुष्पलालको निधनपश्चात् पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गर्दै उहाँ त्यसबखत पार्टी प्रवक्ता हुनुभयो । २०४३ चैत्र १४-१७ मा साहना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (मार्क्सवादी) गठन गर्दा उहाँ पार्टीको सचिव हुनुभयो ।

२०४७ साल चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेकपा (मार्क्सवादी) एक भई नेकपा (एमाले) को निर्माण गरियो । उहाँ २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्यमन्त्री, २०४८ र २०५१ को संसद्को निर्वाचनमा क्रमशः काठमाडौँ क्षेत्र नं. ४ र ६ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य हुनुभयो । त्यसअघिको नेकपा (एमाले) - राप्रपा-सदभावनाको मन्त्रिपरिषदमा उहाँ महिला तथा समाजकल्याणमन्त्री रहनुभएको थियो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.