मोहन शमशेर र विश्वेश्वरप्रसाद कोइरालाको अपील...!

नेपालका बासिन्दा दाजू, भाइ, दिदी, बहिनीहरु हो !श्री ५ महाराजाधिराजको हुकुमबमोजिम नेपालमा दश जना मन्त्रीहरुको मन्त्रिमण्डलद्वारा भरखरै एक नयाँ सरकार संगठीत भएको छ । यो सरकारले देशमा राम्रो थिती बसाल्ने जिम्मा लिएको छ । रैती दुनियाँको भलो होस्, तिनीहरु सुखी हुन् भन्ने अभिप्रायले हामीहरुले देशको उन्नतिका लागि अनेक योजना तरकीबहरु सोची तिनउपर विचार गर्न लागेका छौं । हामीहरुले जे जे काम गर्न खोजेका छौं ती गर्न पायौं भने हाम्रो यो मुलुक पनि अरु उन्नतिशील मुलुकहरु जस्तै सुव्यवस्थित र समृद्धिशाली हुन जानेछ ।तर देशमा शान्ति भएन भने हामी केही काम पनि गर्न सक्ने छैनौं । तेसो हुनाले अब हाम्रा रैती दुनियाँले पहिलो कर्तव्य यही हो कि सबैले मिली देशमा तुरुन्तै शान्ति, अमन चैन ल्याउनुपर्छ ।ठाउँठाउँमा रैतीहरुले नयाँ थिति होस्, भन्ने राय गरिरहेका छन् । कांग्रेस र अरुहरुले पनि नयाँ थिति ल्याउन खोजेका हुन् । श्री ५ महाराजाधिराजको आदेशबमोजिम लडाइँमा लागेको कांग्रेसले लडाइँ बन्द गरी मन्त्रीमण्डलमा सम्मिलित भएर देश र दुनियाँलाई हरतरहबाट सुखी बनाउन खोजेको छ । दश मन्त्री भएको यो हाम्रो नयाँ सरकारले मुलुकभरीका सरकारी जागीरदार, पल्टनियाँ जवान, खेती पाती गर्ने किसान, र अरु इलम धन्दामा लागेका तमाम रैतीहरुको राम्रो बन्दोबस्त गर्ने भएको छ ।तसर्थ सबै रैती दुनियाँहरुले पनि सरकारले खटाए बमोजिम हात हतियार छोडी आफ्ना आफ्ना इलममा लाग्नु पर्छ । मंत्रीमण्डलले ठाउँ ठाउँमा मानिस खटाइ पठाएको छ, सबैले तिनीहरुले भने अनुसार काम गरेका खण्डमा देशमा छिटै शान्ति हुन जानेछ ।हाम्रो देशमा थरीथरीका मानिस छन्, थरी थरीका जात छन् । सबैले मिलीजुलीकन बस्नु पर्छ । एउटाले अर्कोसँग झगडा अथवा लडाईं गर्नु हुन्न । सबै जातिका मानिस एउटै देशका प्रजा नेपाली हुन् तसर्थ सबैले परस्परमा मेल मिलाप राखी देशमा शान्ति ल्याई सरकारको देशोन्नतिका काममा सकभर मद्दत गर्नुपर्छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.