पछिल्ला सामग्री :
दस्तावेज:: सात साल फागुन सातको राजा त्रिभुवनको घोषणा

२००७ साल फागुन ७ गतेको ऐतिहासिक शाही घोषणा२००७ सालको क्रान्तिको परिणामस्वरूप श्री ५ त्रिभुवनद्वारा २००७ साल फागुन ७ गते ऐतिहासिक सन्देशसहित गरिबक्सेको घोषणा-
"आगे हाम्रो मुलुकका भाइ-भारदार, सन्तमहन्त, रैतीदुनियाँ, साहु महाजन गैह्रके यथोचित,उप्रान्त सं. १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राजभएको हाम्रा स्वर्गीय पूज्य जिज्यूबुबाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले आफ्नु र आफ्ना उत्तराधिकारीहरूका तर्फबाट यो मुलुकको शासनभार श्री ३ महाराज जङ्गबहादुर राणालाई सुम्पिबक्सेको हुनाले,उपरोक्त श्री ३ महाराज जङ्गबहादुर राणाका उत्तराधिकारीहरूले हाम्रा पूर्वजहरूको तर्फबाट मौसूफहरूका प्राइमिनिष्टरहरूको हैसियतमा यो राज्यको शासन चलाई आएकाले,औ वर्तमान समयमा श्री ३ महाराज मोहनशम्शेर जङ्गबहादुर राणाले हाम्रो तर्फबाट औ हाम्रो नाममा यो राज्यको शासन चलाई आएको हो,औ हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले इच्छा र निर्णय भएकाले,औ सो विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्यसम्पादन गर्नमा मद्दत र सल्लाह दिनाको निमित्त दुनियाँको विश्वास भएका दुनियाँका प्रतिनिधिहरूसमेत सम्मिलित भएको एक मन्त्रिमण्डलको सङ्गठन होओस् भन्ने हाम्रो इच्छा र निर्णय भएकाले,तसर्थ हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रो अति विश्वासपात्र र प्रीय (१) श्री ३ महाराज मोहनशमशेर जङ्गबहादुर राणा हाम्रो प्राइमिनिष्टर र परराष्ट्र मन्त्री, (२) श्री मिनिष्टर बबरशम्शेर जङ्गबहादुर राणा रक्षामन्त्री, (३) श्री विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री, (४) श्री सुवर्णशम्शेर अर्थमन्त्री, (५) श्री चूडाराजशम्शेर वन विभागको मन्त्री, (६) श्री गणेशमान सिंह उद्योग-वाणिज्य मन्त्री, (७) श्री नृपजंग राणा शिक्षा मन्त्री, (८) श्री भद्रकाली मिश्र यातायात मन्त्री, (९) श्री यज्ञबहादुर बस्न्यात स्वास्थ्य, स्वायत्त-शासन मन्त्री, (१०) श्री भरतमणि शर्मा खाद्य र कृषि मन्त्रीसमेत अरू मन्त्रीहरू सम्मिलित भएको एक मन्त्रिमण्डल गठन र नियुक्त गरिबक्सेका छौं । माथि उल्लेख गरिएका मानिसहरू हाम्रो इच्छाअनुसार आफ्नो ओहदामा रहनेछन् औं संयुक्त रूपमा हामीप्रति जिम्मेदार रहनेछन् । यो राज्यको शासन सम्बनधी विषयहरूमा मन्त्रिमण्डलका सबै निर्णयहरू हामीलाई जाहेर गर्ने हाम्रो प्राइमिनिष्टरको कर्तव्य हुनेछ औ यो राज्यको शासनसम्बन्धी विषयहरूका बारेमा हामीले खोजिबक्सेका सबै समाचार पनि उनले हामीलाई जाहेर गर्ने उनको कर्तव्य हुनेछ ।औ हामी यसद्वारा हाम्रा सबै प्रजालाई हामी र हाम्रा उत्तराधिकारीप्रति सच्चा बफादारी धारणा गर्नाको निमित्त आमन्त्रण गर्दछौं औ हाम्रो सबै जंगी, निजामती अफिसरहरू र यस राज्यका वासिन्दाहरूलाई आज्ञाकारी भई हाम्रा मन्त्रीहरूलाई निजको कर्तव्यको सम्पादनमा मद्दत र सहायता गर्नालाई आदेग गरिबक्सेका छौं ।राजनैतिक अपराधमा परेका सबैलाई निजहरू २००७/१२/२०/२ अघि आफ्नो घर फर्की शान्तिमय कामकाजमा लागे भने निजहरूलाई माफी र विस्मृति दिने औ त्यस्ता अपराधमा जफत भएको निजहरूको जायदाद तिनीहरूलाई फिर्ता दिने हाम्रो शाही इच्छा छ ।यो हाम्रो आन्तरिक आशा छ कि यो नयाँ व्यवस्थामा सरकार र दुनियाँले मिलिजुली नेपालको उन्नति र समृद्धिको निमित्त प्रयत्न गर्नेछन् । परमेश्वरले हामीलाई र हाम्रा अधिकारी वर्गलाई हाम्रा प्रजाको हितको निमित्त उपरोक्त हाम्रा इच्छाहरू पालन गर्ने शक्ति दिऊन् ।

- नारायणहिटी दरबार, काठमाडौं
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.