पछिल्ला सामग्री :
दाहाल किन गएनन् अमेरिका ?

राज रेग्मी ।
विदेश जाने ? त्यो पनि राज्य कोषको पैसामा । आहा ! क्या मज्जा । तर, गत साता माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल भने अमेरिका जाने अवसर पाए पनि गएनन् । किन गएनन् उनका अनुसार– अहिले मुलुकको विषम् परिस्थिति । तर, उनको यो बहाना मात्रै रहेको घामझैं छर्लंगै देखिन्छ । प्रधानमन्त्री हुनेबित्तिकै भारत भ्रमणमा रहेका प्रधानमन्त्री तथा केन्द्रका अध्यक्ष दाहाल अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम थियो । उनी भारतबाटै या नेपाल फर्किएलगत्तै अमेरिका जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरे । उनको ठाउँमा परराष्ट्रमन्त्री प्रकाशशरण महत त्यसतर्फ लागे । महासभामा संघमा आबद्ध मुलुक प्रमुख सहभागी हुने कार्यक्रम थियो । तर, उनले आफू नगई परराष्ट्रमन्त्री महत नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन दिल्लीबाट सोझै अमेरिका पठाए । आफू नेपाल फर्किए ।

झन्डै ३ वर्ष बेलायतको जेल बसेर नेपाल फर्किएका नेपाली सेनाका कर्णेल कुमार लामा मुलुकमा द्वन्द्वका बेला कपिलवस्तुको गोरुसिंगेमा सर्वसाधारणमाथि ज्यादति गरेको आरोपमा जेल परेका थिए । कर्णेल लामाभन्दा कैयौं गुणा अपराध गरेको आफैंलाई महसुस भई माओवादी केन्द्रका अध्यक्ष दाहालले अमेरिका भ्रमण रद्द गरेको हुनसक्ने राजनीतिकवृत्तमा सुन्न सकिन्छ । हावा नचली कसरी हल्लिएला र पात ? त्यसैले त प्रधानमन्त्री बहाल रहेकै वेला अन्तर्राष्ट्रिय कानुनले समात्ला भन्ने डरले दाहाल त्यसतर्फ जान डराएको हुन सक्ने राजनीतिक विश्लेषकहरूको आंकलन छ ।

कालीदासले त छविलाई सुधार्न सफल भएर वेदव्यास बने भने दाहालले छवि किन सुधार्न नसक्ने भन्दै उनले आफूमाथि लागेका मुद्दाहरू किनारा लगाउनेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ । यदि होइन् भने भारत, मौकै परे विहार नै किन नहोस् भ्रमणमा जान मरिहत्ते गर्ने नेपाली राजनीतिक दलका नेताहरूको प्रवृत्तिभन्दा दाहाल पक्कै माथि त छैनन् होला नि । त्यसैले आफू प्रधानमन्त्री बनेको महिनादिनमै भारत भ्रमण गर्न आतुर दाहाल अमेरिका भ्रमण एकाएक कसरी स्थगित गर्न सके । यो सोचनीय छ ।

डर छ जनतासँग, कानुनसँग त्यसमा पनि अन्तर्राष्ट्रिय कानुनसँग त झन डर नहुने कुरै भएन । नेपालमा त जेनतेन बस्न सकिएकै छ । किन भने डाडुपन्यु त आफ्नै हातमा जो छ । उता दाहालको अमेरिका भ्रमण स्थगित हुनु उत्तिकै संशयपूर्ण देखिन्छ । ‘दाहाल बरु चीन भ्रमणका लागि तयार होलान् । तर, अमेरिका भ्रमणका लागि भने ४ पटक सोच्नुपर्ने अवस्था छ,’ एक राजनीतिक विश्लेषक चिया गफमा बताउँछन् । नेपालमा उनलाई अझै राजनीतिक गर्नुछ, अमेरिका या बेलायतको जेलमा सडेर बस्न मन त छैन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र द्वन्द्वकालका मुद्दा सल्टिए निर्धक्क हुने पर्खाइमा छन् । उनीहरू यसलाई सेफ ल्यान्डिङ कसरी गर्न सकिन्छ भन्नेमा घोत्लिएका छन् ।

गणतन्त्रपछि दोस्रोपटक सत्ताको बागडोर सम्हालेका पुष्पकमल दाहाल पनि यो मुद्दा कसरी हुन्छ सल्टाउने पक्षमै छ । उनले जतिसक्दो चाँडो मुद्दा किनारा लाग्यो उति आफूअनुकूल हुनेमा विश्वस्त छन् । उसो त प्रधानमन्त्रीसमेत रहेका केन्द्रका अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा टीकापुर काण्डका दोषीमध्ये प्रमुख मानिने रेशम चौधरीलाई भेटेका छन् । चौधरीलाई सुरक्षा निकायले ‘मोस्ट वान्टेड’ को सूचीमा राखेको छ । टीकापुरमा २ वर्षीय बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त चौधरी मानिन्छन् । चौधरीसँग दाहालको भेटलाई लिएर अहिले सामाजिक सञ्जालसँगै मूलधारका पत्रपत्रिकाले समेत समाचार सम्प्रेषण गरिसकेका छन् । उसबाट उनको कद बढ्नुको साटो घटेको देखिन्छ ।

उसो त दाहाललाई अमेरिका जान मन नलागेको कहाँ हो र ? तर, कतै पक्राउ परिहालिन्छ कि भन्ने मनको अन्तरकुन्तरमा चिसो पसेर उनी नगएका पो हुन् कि ।

उसो त झन्डै ३ वर्षअघि पनि महान्यायाधिवक्ता मुक्ति प्रधान पनि पक्राउ पर्ने डरले अमेरिका नगएको समाचार केन्द्रस्तरका अधिकांश मूलधारे पत्रिकाले समाचार सम्प्रेषण गरेका थिए । उनी पनि कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गरेजस्तो आफूलाई पनि त्यहाँको प्रहरीले पक्राउ गर्छ कि भन्ने डरले नगएका । आफ्ना प्रधानमन्त्री विदेशमा पक्राउ पर्नु नेपालीका लागि सह्य हुँदैन । पार्टी जुनसुकै भए पनि दाहाल सबै नेपालीका प्रधानमन्त्री जो हुन् । उता दण्डहीनतालाई प्रश्रय दिने, मानवअधिकार उल्लंघन गर्नेलाई भए स्वदेशमा नभए विदेशमै भए पनि पक्रेर कारबाही गर्ने पर्छ भन्नेको जनमत उल्लेख्य छ । दाहाल पक्राउ परिन्छ भन्ने डरले नगएका हुन् वा अर्के कारणले ? अहिले दाहालका सामु चुनौती र अवसर दुवै छ । चुनौतीलाई अवसरका रूपमा लिएर उनले काम अघि बढाए उनको राजनीतिक उचाइ घट्नुको साटो बढ्ने निश्चित छ ।

IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.