पछिल्ला सामग्री :
दसैं आयो, सकस पनि सँगै आयो

राज रेग्मी, काठमाडौं । राजधानीका आकाशमा अहिले रंगीचंगी चंगा उडेको दृष्य देख्न सकिन्छ । यो दसैंको आगमन भएको संकेतका रुपमा लिइन्छ । नारायणगढदेखि पश्चिमका प्रायः रुटमा चल्ने गाडीको अग्रिम टिकट भने गत शुक्रबारबाटै खुलेको हो । पश्चिमको तुलनामा पूर्व रुटमा भने केहीले अग्रिम टिकट खुलाएका छन् भने केही खुलाउने तरखरमै छ । जे होस् नेपालीलाई दसैंले ढपक्कै छोप्न आँटिसक्यो । राजधानीमा बस्ने कर्मचारी, विद्यार्थी, कामदार सबैले घरजाने मेसो मिलाउन थालेका छन् । तर, मेसो मिलाउन सहज पनि कहाँ छ र ? सहजका नाममा अग्रिम टिकटको व्यवस्था गरिए पनि सर्वसाधारणले सकस धेरै खेप्नु परेको छ ।

काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिनेको घुँइचो देख्न सकिन्छ । सबै तछाडमछाड गरिरहेका छन् । राम्रो लगाउने मीठो खाने पर्वका रुपमा मानिने दसैं वर्षदिनमा काममा घरभन्दा टाढा गएकाहरुलाई जमघट हुने एउटा बहाना समेत मान्न सकिन्छ ।

सकसमा विद्यार्थी :
नेपालगन्जका समीर ओलीले यसपटक अग्रिम टिकटका लागि गोंगबु बसपार्कमा झन्डै ६ घण्टा लाम लाग्नुपर्यो । ६ घण्टामा बल्लतल्ल टिकट काउन्टरमा पुगेका ओलीले टिकट त पाउने भए तर विद्यार्थी छुट होइन । उनले पूरै भाडा दिएमात्र काउन्टरका कर्मचारीले टिकट दिने भनेपछि बाध्य भएर पूरै भाडा दिएर एउटा टिकट लिए । विद्यार्थीलाई ४५ प्रतिशत छुट किन नदिएको भन्दा काउन्टरका कर्मचारीले जाने दिनमा आउनु भनेर फर्काएको ओलीले गुनासो गरे । नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्ययनरत ओलीजस्तै राजधानी बाहिरिने हजारौं विद्यार्थीले छुट पाएका छैनन् । राज्यले विद्यार्थीलाई दिएको ४५ प्रतिशतको छुट दसैंका बेलामा लागू हुन गाह्रो छ । ‘राज्यले विद्यार्थीलाई दिएको अधिकारबाट वञ्चित भएको’ अधिकांश विद्यार्थीको भनाइ थियो ।

यस्तै विद्यार्थीसँगै महिला, अशक्त, अपांग तथा ज्येष्ठ नागरिकलाई दिएको आरक्षण सिटको सुविधा पनि चाडबाडको मौकामा व्यवसायीहरुले कटौती गरेका छन् ।

सहायता कक्ष नाम मात्रैका :
प्रहरीले भाडादरसहित बसपार्कमा सहायता कक्षका नाममा आफ्नो उपस्थिति जनाएको छ । तर, उनीहरूले लाइन व्यवस्थापनमा सहजीकरण, यात्रुलाई पर्ने समस्या सम्बोधनका लागि उनीहरूको भूमिका प्रभावकारी नदेखिएको दाङकी रेणुका बस्नेत बताउँछिन् । उनले भनिन्, ‘प्रहरीको उपस्थिति त देखिन्छ, तर लाइन लागे पनि बीचबीचमा आफ्ना मान्छे छिराउने गरेको देखे पनि नदेखे जस्तो गर्छन् ।’
तर, प्रहरीले यात्रुको सहायताका लागि विभिन्न स्थानमा हेल्प डेस्क राखेको छ । प्रहरीसँगै यातायात व्यवस्था विभागले पनि विभिन्न ठाउँमा सहायता कक्षमार्फत आफ्नो उपस्थिति जनाएको छ । विभागले सरकारले तोकेको भाडादरभन्दा बढी नतिर्न पनि सर्वसाधारणमा अपिल गरेको छ ।

अस्तव्यस्त बसपार्क :
उपत्यकामा विभिन्न पेसा व्यवसाय गर्ने व्यक्ति दसैं मनाउन बाहिरिने गर्छन् । उपत्यकाबाट झन्डै ५० लाख यात्रु बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरीको आँकडा छ । दसैंमा घरजानेका लागि सुविधा भन्दै यातायात व्यवसायीले अग्रिम टिकट काट्ने व्यवस्था गरे पनि मुलुककै ठूलो तथा सुविधा सम्पन्न गोंगबुमा रहेको नयाँ बसपार्क निकै अस्तव्यस्त देखिन्छ । गाडीका कर्मचारी आफ्नो गाडीमा टिकट काट्न यात्रु तान्ने गरेको दृष्य पनि हेर्नलायक देखिन्छ । बसपार्कभित्रको अस्तव्यस्तले यात्रुले सास्ती खेपिरहेका छन् । व्यवसायीहरुले यात्रुलाई व्यवस्थित तरिकाले टिकट वितरण गरेको दाबी गरे पनि यहाँको वातावरणले यसलाई गिज्याइरहेको देख्न सकिन्छ ।

IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.