पछिल्ला सामग्री :
सडकमा ‘ज्ञानी’ नवीन (फोटो फिचरसहित)


काठमाडौं । सिन्धुपाल्चोक किउल गाविस १ का ७ वर्षीय नवीन ज्योति (गिरी) अहिले आफ्ना हजुरबा–आमासँगै सुविधानगरमा एउटा सानो कोठामा बस्छन् । भूकम्पले किउलमा रहेको घर लडाएपछि उनी काठमाडौं आएका हुन् । अहिले उनी शान्तिनगरमा रहेको सिद्धेश्वर माविमा कक्षा २ मा पढ्छन् । उनी जति ज्ञानी छन्, पढ्नमा पनि उत्तिकै अब्बल छन् ।


 हजुरबा निजी सेक्युरिटी गार्डमा कार्यरत छन् भने हजुआमा भीमकुमारी शान्तिनगर र सुविधानगरको बीचमा रहेको वाग्मती नदीको पुलमाथि नाङ्लो पसल चलाउँछिन् । हजुरबा काममा गएपछि उनी हजुरआमासँगै हुन्छन् । स्कुल लागेको दिन स्कुल जान्छन् । नलागेको दिन हजुरआमाको नाङ्लो पसलमा ज्ञानी भएर बस्छन् । नवीन चकचक गर्दैनन् । बरु बाटोमै उनी कापीकिताब लिएर पढ्न थाल्छन् । स्कुलबाट दिएको गृहकार्य पनि उनी बाटोमै हजुरआमाको पसलछेउमै बसेर सिध्याउँछन् ।



उनका बाबा वैदेशिक रोजगारीका लागि विदेशमा गएका छन् । आमा भने गाउँमै छिन् । भूकम्पले गाउँको घर भत्किँदा बस्ने व्यवस्था पनि राम्रो भएन । त्यसैले नवीन पढ्नकै लागि हजुरबा–आमासँग काठमाडौंमै आए । यहीं मन लगाएर पढ्दै छन् नविन । बाटोछेउ बसेर पढेको देख्नेहरू पनि नवीनलाई देखेर दंग पर्छन् । भूकम्पपछि नवीनलाई गाउँको घरमा डरले बस्नै मन लागेन । ‘त्यसैले त काठमाडौं आएँ,’ नवीन भन्छन्, ‘भैंचालोको डर लाग्यो, बज्यैसँग आएँ ।’ उनकी हजुरआमाले काठमाडौंमा नाङ्ले पसल गर्न थालेकै ७/८ वर्ष पुगेछ । ‘भैंचालोपछि नातिले यतै पढ्छु भन्यो । गाउँमा बस्न सक्ने अवस्था नहुँदा हामीसँगै राखेर पढाएका हौं,’ भीमकुमारीले भनिन्, ‘दिनभरि चकचक नगरीकन मैसँग बस्छ । यहीं मुढामा बसेर लेखपढ पनि गर्छ । साह्रै सन्तोकी (सन्तोषी) छ मेरो नाति ।’ भीमकुमारी स्कुल बिदा भएका बेला आफैंसँग दिनभर राख्छिन् । स्कुल लागेका बेलामा त ९ बजेदेखि ४ बजेसम्म स्कुलमै हुने हुँदा भीमकुमारी ढुक्कले नाङ्लोमा राखेको पसल चलाउँछिन् ।

स्कुल बिदा भएका दिनमा नवीन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हजुरआमसँगै पसलमै बस्छन् । साँझ हजुरआमाको नाङ्लो पसल उठेसँगै उनी पनि लुरुलुरु हजुरआमाकै पछि लाग्छन् । कोठामा पुग्छन् । हजुरआमा खाना बनाउँछिन् । दुवैजना मिलेर खाना खान्छन् । अनि हजुरआमाकै काखमा लुटपुटिएर निदाउँछन् । प्रायःजसो हजुरबा भने ड्युटी बस्ने अफिसमै खाना खान्छन् ।

भूकम्पका बेला नवीन गाउँमै थिए । हजुरबा–आमा भने काठमाडौंमै । नवीनकी हजुरआमाले गाउँबाट काठमाडौं आएर नाङ्लो पसल चलाएको पनि ९ वर्ष पुगेछ । दमको रोगी भीमकुमारी धेरै बोल्न र हिँड्न पनि सक्दैनिन् । नजिकै रहेको कोठाबाट नवीनलाई स्कुल पुर्‍याउँदा पनि उनलाई स्याँस्याँ हुन्छ ।

‘यो (नवीन) पोहोर भैंचालो गएदेखि डराएर यतै पढ्न आएको,’ हजुरआमा भन्छिन्, ‘घरमा पनि बिहानदेखि फुर्सद भएका बेला पढिरहन्छ ।’ हजुरबा कोटेश्वरमा गार्ड गर्छन् । निजी गार्ड हुन् । बिहान खाना खाएर स्कुल पुर्‍याउन ९ बजे नातिसँगै आउँछिन् । ‘पहिले हजारदेखि १५ सयसम्म कमाइ हुन्थ्यो । अहिले ६ सयदेखि हजारसम्म कमाइ हुन्छ,’ भीमकुमारीले भनिन् ।

सिन्धुपाल्चोक हुँदा नवीन निजी स्कुलमा पढ्थे । यहाँ सामुदायिक स्कुलमा पढ्छन् । यहाँका बोर्डिङ स्कुल महँगो हुन्छ रे । ‘यो पढाइमा पनि तेज छ । पछि ठूलै मान्छे होला कि ?’ खुसी हुँदै हजुरआमाले नवीनप्रति विश्वासको आशा देखाइन् । हो, भाइबैनीहरू हामी पनि नवीन जसरी नै ज्ञानी भएर लेखपढ गर्ने कि ?
शब्द, तस्बिर : शम्भु रेग्मी
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.