पछिल्ला सामग्री :
लोडसेडिङ घटेसँगै जेनेरेटरको व्यापार ठप्प

काठमाडौं, ११ पुस । विद्युत् प्राधिकरणले उपत्यकालाई लोडसेडिङ मुक्त बनाएको छ । प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आएसँगै विद्युत्को क्षेत्रमा कायापलट भएको उपत्यकावासीको भोगाइ छ ।
गत वर्षसम्म दैनिक १६ घण्टा लोडसेडिङको मार खेपेका उपत्यकावासी यसपटक भने ढुक्कले बिजुली बालिरहेका छन् । राजधानी उपत्यका झन्डै लोडसेडिङ भनेको के हो भन्ने भुल्ने तरखरमा देखिन्छ ।

यसरी प्राधिकरणले लोडसेडिङ अन्त्य गरेसँगै धेरैको रोजिरोटी जोगिएको छ भने धेरैले रोजगारीबाट हात धुनुपर्ने अवस्था आएको बताउँछन् । हुन त लोडसेडिङले धेरै उद्योग, कलकारखाना निर्वाध सञ्चालन भइरहेका छन् । व्यापारिक प्रतिष्ठान नियमित भएका छन् । सामान्य रोजगारी गर्नेलाई लोडसेडिङ नहुँदा नियमित दैनिकी सञ्चालन गर्न पाइरहेको अवस्था छ ।

यसरी उपत्यकामा लोडसेडिङ घटेको भन्दै एक साताअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा जुलुससमेत निस्किएको थियो । यसलाई निरन्तरता दिन कुलमानले हालैमात्र भारत पुगेर थप विद्युत् आयातका लागि सम्झौतासमेत गरेका छन् ।

लोडसेडिङको अन्त्यसँगै धेरैको रोजगारीले निरन्तरता पाएको छ । सञ्चारमाध्यमहरू नियमित सञ्चालन भइरहेका छन् । लोडसेडिङको चर्को मारमा सञ्चारमाध्यम धेरै परेका थिए । लोडसेडिङकै कारण धेरै सञ्चारमाध्यमले आफ्नो सेवालाई घटाएका थिए भने केही त बन्दै भएका थिए । लोडसेडिङले यावत् कुरालाई निरन्तरता दिएको छ ।

लोडसेडिङको अन्त्यसँगै जेनेरेटर व्यवसाय भने धरापमा परेको छ । अहिलेको सिजन भनेको जेनेरेटरको बिक्री धेरै हुने सिजनका रूपमा मानिन्छ । लोडसेडिङ अन्त्य भएसँगै जेनेरेटर बिक्री ठप्प भएको टेकुस्थित मेसिनरी सामग्री विक्रेता सोहन अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘यसपटकको लोडसेडिङको अन्त्यसँगै हाम्रो व्यापारमा पनि मन्दी छाएको छ । यसवर्ष जेनेरेटर बिक्री प्रायः ठप्पजस्तै भएको छ ।’

लोडसेडिङका समयमा वैकल्पिक ऊर्जाको माध्यम बनेको जेनेरेटरको बिक्री ह्वात्तै घटेको हो । योसँगै जेनेरेटरमा लगानी गर्नेहरू पनि अहिलेको लोडसेडिङको अन्त्यसँगै इन्धन (डिजेल, पेट्रोल र मट्टितेल) किन्नुनपरेकोमा खुसी छन् । तर, लाखौं लगानी गरेको जेनेरेटर भने खिया लागेको पुनः काम नलाग्ने स्थितिमा पुगेको छ । ‘जेनेरेटर त छ, सधैं लोडसेडिङ भएन भने त ठिकै हो । पछि फेरि जेनेरेटर चलाउनुपर्ने अवस्था आएको खण्डमा पुनः धेरै लगानी गर्नुपर्ने अवस्था आउँछ कि भन्ने चिन्ता हो,’ राजधानीमै एफएम रेडियो चलाइरहेका एक सञ्चालक बताउँछन् ।

राजधानीमा मात्रै नभएर देशैभरको लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको बताउँछन्, ऊजामन्त्री जनार्दन शर्मा । उनी भन्छन्, ‘लोडसेडिङमुक्त देश बनाउने अभियानमा जुटेको छु । सबैको साथ र सहयोगको आवश्यकता छ ।’ अहिले उपत्यकामा लोडसेडिङ अन्त्य भएसँगै कुलमान जति लोकप्रिय बनेका छन् उत्ति नै ऊर्जामन्त्री शर्मा पनि लोकप्रियताको शिखरमा उक्लिएका छन् । शर्मा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी छन् ।

यसअघि एमालेका तर्फबाट ऊर्जामन्त्री भएका गोकर्ण विष्ट पनि लोकप्रिय बनेका थिए । विष्टले अहिलेको जसरी लोडसेडिङको अन्त्य त गरेका थिएनन् तर, सुधारका धेरै काम गरेका थिए । तत्कालीन ऊर्जामन्त्री विष्टले विद्युत्को बक्यौता रकम नतिर्ने सरकारी कार्यालयको समेत आफैं गएर लाइन काटेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘मैले लोडसेडिङ घटाएको होइन, व्यवस्थापन मात्रै गरिदिएको हुँ ।’ उनले आफ्नो कार्यकालमा विद्युत् चुहावट अन्त्य गर्ने तथा लोडसेडिङमुक्त समाज निर्माणको परिकल्पना गरेका छन् । मुलुकलाई लोडसेडिङ मुक्त गराउने अभियानमा घिसिङलाई ऊर्जामन्त्री शर्माले पनि उत्तिकै साथ दिएका छन् । ऊर्जामन्त्री शर्माले हालै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरणका ३ सञ्चालकलाई बर्खास्त गरेका छन्।


मन्त्री शर्माले घिसिङलाई लोडसेडिङ घटाउन मद्दत गर्नुको साटो असहयोग गरेको भन्दै पुस ४ मा सञ्चालक सदस्य लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेका थिए । लोडसेडिङ घटाउने अभियानमा कार्यकारी निर्देशक घिसिङलाई असहयोग गरेको भन्दै उनीहरूसँग ऊर्जा मन्त्रालयले स्पष्टीकरण मागेको थियो । तर, उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले बर्खास्त गरेको थियो ।


(शम्भु रेग्मीको रिपोर्ट)
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.